बुटवलको लक्ष्मी माविले श्रीमद्भागवत धार्मिक महोत्सव गर्ने

by समतल अनलाइन
32Shares

बुटवल । बुटवलको लक्ष्मिनगर स्थित लक्ष्मी माध्यमिक विद्यालयले श्रीमद्भागवत धार्मिक महोत्सव गर्ने भएको छ ।  यही मंसिर २० गतेदेखि २६ गतेसम्म विद्यालयको परिसरमा नै श्रीमद् भावगत सत्संग एवं शैक्षिक तथा धार्मिक महोत्वस गर्ने भएको हो । 

विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्वसको तयारी तीव्र पारिएको जनाएको छ । विद्यालयको आन्तरिक स्रोत केही नहुँदा विद्यालयको विकासका लागि आर्थिक अभाव हुने गरेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सिताकुमारी श्रेष्ठले बताइन् । 
विद्यालयले संचालन गर्न लागेको महायज्ञले विद्यायलयको विकासका लागि सहयोग पुग्ने अपेक्षा रहेको बताइन् । यस्तै विद्यालयकी प्रधानाध्यापक शान्ति शर्माले हिउँदे विदामा मिलान गर्ने गरी महायज्ञ विद्यालय परिसरमा नै राखिएको बताइन्। 

महायज्ञमा करिब ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको र त्यसले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि टेवा पुग्ने बताइन् । साथै महायज्ञबाट उठेको अक्षयकोषमा राखिने समेत उनले बताइन् । 

महायज्ञलाई सफल पार्नका लागि २७ वटा विभिन्न उपसमिति बनाएर प्रचारप्रसारलाई तीब्र बनाएको समेत प्रधानाध्यापक शर्माले बताइन् । महायज्ञमा सुप्रसिद्ध कथावाचक पण्डित चन्द्रकान्त काफ्लेको मुखारबिन्दुबाट दिव्य संगीतमय श्रीमद्भागवत कथा वाचन हुनेछ । महोत्सव अवधिभर दैनिकरुपमा बिहान ७ बजे यज्ञ मण्डप पूजा, बिहान ८ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, चण्डीपाठ, वेदपाठ पारायण हुनेछ ।

यस्तै बुटवल उपमहानगरपालिका वडा ४ का अध्यक्ष नरिश्वर पौडेलले उपमहानगरपालिकाले सक्दो सहयोग गरेको बताउँदै विद्यायको सम्रग विकासका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए । 

वि.स. २०३७ सालमा स्थापना भएको लक्ष्मी माविमा अहिले २१६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने १७ जना शिक्षक कार्यरत छन् ।  
 

You may also like