बुटवलमा टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ सञ्चालन, लुम्बिनी प्रदेशमै पहिलो

by समतल अनलाइन
63Shares

बुटवल । विश्वको पाँचौँ ठूलो र चर्चित घडी निर्माता टाइटन कम्पनीले लुम्बिनी प्रदेशमै पहिलोपटक बुटवलमा आफ्नो ‘एक्सक्लुसिभ स्टोर’ सञ्चालनमा ल्याएको छ। बुटवलको बीपी चोकमा उद्घाटन गरिएको यो स्टोर आर.के वाचका सञ्चालक तथा ३७ वर्षदेखि घडिको व्यवसायमा सक्रिय कुमार तामाङको पहलमा सुरु गरिएको हो।

मंगलबार आयोजित कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, टाइटन कम्पनीका -इन्टरनेशनल अपरेसन बिजनेस म्यानेजर वसन्त वासुदेवन, र नेपालका आधिकारिक विक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिका प्रबन्ध निर्देशक सुनिलकुमार अग्रवाललगायतले स्टोरको संयुक्त रूपमा उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै सञ्चालक तामाङले ग्राहकको बजेटअनुसार हजारौँ आधुनिक तथा आकर्षक डिजाइनका घडी सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको बताए। आफ्नो जन्म इलाम भए पनि वि.सं. २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाउँदै निरन्तर घडी व्यापारमा लागेको अनुभवबाट टाइटनको पहिलो प्रदेश–स्तरीय स्टोर बुटवलमै खोल्न सफल भएको उनले बताए। उनका अनुसार स्टोरमा १ हजारभन्दा बढी डिजाइन**मध्ये मनपर्ने घडी छान्न सकिने सुविधा छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालले बुटवलमा टाइटन ब्राण्डको स्टोर खुलेसँगै ग्राहकले गुणस्तरीय घडी सहज रूपमा किन्न सक्ने वातावरण बनेको उल्लेख गर्दै व्यवसायी तामाङको योगदान प्रशंसनीय रहेको बताए। उनले प्रदेशका अन्य शहरहरूमा पनि यस्ता स्टोर विस्तार गर्न आवश्यक रहेको धारणा राखे।

टाइटनका इन्टरनेशनल अपरेसन बिजनेस म्यानेजर वसन्त वासुदेवनले बुटवलमा ब्राण्ड विस्तार हुन पाएकामा खुशी व्यक्त गर्दै, “हामी टाइटनका नवीनतम स्मार्टवाचदेखि क्लासिक क्वार्ट्ज र अटोमेटिक- मोडेलसमेत नेपाली ग्राहकसम्म पुर्‍याइरहेका छौँ,” भने। नेपाल ट्रेड नेटवर्कका प्रबन्ध निर्देशक अग्रवालले बुटवलको नयाँ स्टोर प्रिमियम घडीको बढ्दो माग पूरा गर्ने महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार टाइटनले नेपालका प्रमुख शहरहरूमा निरन्तर स्टोर विस्तार गरिरहेको छ।

स्टोरमा उपलब्ध टाइटन र फास्ट्रेक ब्राण्डका घडीको मूल्य ३ हजार ५ सयदेखि ४ लाख ५० हजार रुपैयाँसम्म रहेको छ। साथै स्मार्टवाच, परफ्युम र सनग्लास- पनि बिक्रीमा छन्। उद्घाटन विशेष योजनाका रूपमा मंसिर १० गतेसम्म प्रत्येक घडीमा १० प्रतिशत छुट र २० एमएलको टाइटन स्किन परफ्युम** उपहार प्रदान गरिने स्टोरले जनाएको छ।

सन् १९८४ मा स्थापना भएको टाइटन कम्पनीले हरेक वर्ष डेढ करोडभन्दा बढी घडी उत्पादन गर्दै विश्वका २५ देशमा- बिक्री गर्दै आएको छ।

You may also like