काठमाडौँ । पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विराटनगर किङ्गसले एनपिएलमा विजयी सुरुवात गरेको छ। विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १८.५ ओभरमा अलआउट हुँदै १६७ रन मात्रै बनाउन सक्यो । पोखराको लागि कप्तान तथा ओपनर कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेले । कुनै समय २–८८ को अवस्थामा रहेको पोखरा सम्हालिन सकेन ।
यस्तै, एडम रोसिंगटनले ३९ रन बनाउँदा डेनियल अलेक्जेन्डर डोथवेटले २९ तथा अविशेक तिवारीले ११ रन बनाए । विराटनगरको लागि कप्तान सन्दीप लामिछाने, शुभम रञ्जने, प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट हात पारे । सूर्य तामाङ, र अबसिर अहमदले सामान एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकेश बम र मार्टीन गप्टीलले १३२ रनको शानदार साझेदारी गर्दै विशाल योगफल बनाएको हो ।
विराटनगरका लोकेश बमले ४८ बलमा ७ चौका र एक छक्काको सहयोगमा ७२ रन बनाएर आउट भए । यस्तै, मार्टीनले ३५ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ६१ रन प्रहार गरे। यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, सुभवा रन्जनि ३८ र नारायण जोशी ११ रनमा अविजित रहे।
पोखराको लागि म्याथ्यू टेलरले दुई विकेट लिँदा कप्तान कुशल भुर्तेल र सागर ढकालले एक विकेट हात पारे।

