काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित स्थानीयसँग भएको सहमति कार्यान्वयन भइरहेको बताएका छन्।
फोहोर व्यवस्थापनमा देखिएको अवरोधका बीच उनी गत कात्तिक १६ गते ल्याण्डफिल साइट पुगेका थिए र स्थानीयका तत्काल लागू गर्न सकिने माग १५ दिनभित्र पूरा गर्ने आश्वासन दिएका थिए ।
तर केही स्थानीयले माग पूरा नभएको भन्दै फोहोर गाडी रोक्ने चेतावनी दिएपछि मन्त्री घिसिङले आन्दोलनरत समूहलाई सम्पर्क गरी आफूले गरेका सबै प्रतिवद्धता पूरा भएकाले फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेका हुन् ।
सरकारले स्थानीयको मागअनुसार रातिको फोहोर व्यवस्थापन सहज बनाउन ल्याण्डफिल क्षेत्रमा बत्ती जडान सम्पन्न गरेको छ । सहमतिअनुसार शहरी विकास मन्त्रालयका सचिवको संयोजनमा धुनिवेसी नगरपालिकाका प्रमुख, ककनी गाउँपालिकाका अध्यक्ष र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्मिलित सहजीकरण समिति पनि गठन गरिएको जनाएको छ ।
साथै, मुआब्जा तथा क्षतिपूर्तिको विषयमा भने सिसडोल मोडलअनुसार धादिङ र नुवाकोटका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न काठमाडौँ महानगरपालिकालाई पत्र पठाइएको मन्त्रालयले जनाएको छ । यसअघि ६५ लाख रुपैयाँ वितरण गर्दै आएको महानगरले यो वर्ष क्षतिपूर्ति बजेट बढाएर १ करोड १० लाख विनियोजन गरेको छ।
यसबाहेक फोहोर लैजान निकुञ्ज मार्ग प्रयोग गर्न शहरी विकास विभागले प्रारम्भिक वातावरणीय परीक्षणका लागि परामर्शदातासँग सम्झौता गरेको छ । त्यस्तै, प्रभावित क्षेत्रका चार वटा सडक स्तरोन्नतिको प्रक्रियामा बोलपत्र मूल्याङ्कन भइरहेको जनाएको छ।

