बुटवल उपमहानगरमा पहिलोपटक परीक्षा विधिबाट ३४४ विद्यार्थीलाई छात्रवृत्ति

by समतल अनलाइन
74Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका १३ संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत ३ हजार ४३६ विद्यार्थीमध्ये ३४४ जनाले यस वर्ष निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै आइतबार उपमहानगरपालिकाले सम्बन्धित विद्यालयमै स्वयं परीक्षा सञ्चालन गरी छात्रवृत्ति प्राप्तकर्ताको छनोट गरेको हो।

नगर प्रमुख खेलराज पाण्डेयका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीहरूले कक्षा १२ पनि निशुल्क पढ्न पाउने छन्। छात्रवृत्ति वितरण पारदर्शी बनाउन विद्यालय र उपमहानगरपालिकाले लगातार दुईवटा सूचना जारी गर्दै परीक्षा प्रणाली अपनाएको उनले बताए।

अनुगमन शाखा प्रमुख ठगिश्वर बस्यालका अनुसार परीक्षा व्यवस्थापन विद्यालयले गरे पनि अनुगमन उपमहानगरपालिकाले गरेको हो। यसले छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षता वृद्धि भएको उनले बताए।

बिगतमा संस्थागत विद्यालयहरूले आफ्नै हिसाबले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्दै आए पनि पछिल्लो केही बर्षयता छात्रवृत्ति बितरणका लागि स्थानीय तहले परीक्षा लिने ब्यवस्था गरेकोले साेही अनुसार परीक्षाको ब्यवस्थापन गरिएको न्यु होराइजन मा वि का प्राचार्य लाेकनाथ उपाध्यायले जानकारी दिए ।

अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषालका अनुसार यस वर्षको छात्रवृत्तिका लागि प्रश्नपत्रसमेत उपमहानगरपालिकाको शिक्षा शाखाले नै तयार गरेको थियो।

विद्यालयका प्रतिनिधिहरूका अनुसार छात्रवृत्तिका १० प्रतिशत विद्यावारिधि कोटा बाहेक आर्थिक अभावका कारण पढ्न नसक्ने अन्य विद्यार्थीलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

You may also like