काठमाडौँ। राष्ट्रियसभाको आगामी निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते हुने भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गर्न सक्नेछन् ।
मतदाता नामावली पुस १९ गते बिहान १० देखि ११ बजेसम्म प्रकाशन गरिनेछ । मतदाता नामावलीमा दाबी, विरोध वा उजुरीको छानबिनपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ ।
पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि २ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिने छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ।
यस पटक राष्ट्रियसभाका १९ सांसदको कार्यकाल फागुनमा समाप्त हुँदैछ । २०७६ माघ ९ गते चुनिएका यी सांसदहरूको ६ वर्षे कार्यकाल सकिन लागेको हो।




