प्रतिनिधि सभाको उम्मेदवारी दर्ता माघ ६ गते : यस्तो छ निर्वाचन कार्यतालिका

by समतल अनलाइन
44Shares

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते हुने भएको छ ।

आयोगले आइतबार सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार सोही दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्नेछन् ।

आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा सर्वसाधारणलाई आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आग्रह गरेको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनविरुद्ध उजुरी दिन सकिनेछ । उजुरी तथा मनोनयन पत्रको जाँचबुझ माघ ७ को दिउँसो ३ बजेबाट माघ ८ गते बेलुका ५ बजेसम्म हुनेछ । त्यसपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय दिइएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर २१ देखि २३ गतेसम्म राजनीतिक दलले निवेदन पेश गर्नुपर्नेछ । मंसिर २४ गते दलहरूको नामावली प्रकाशित गरिनेछ । पौष १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ भने माघ २० गते बन्दसूची अन्तिम रूपमा प्रकाशित हुनेछ।

स्वीकृत कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका मतदान केन्द्रमा मतदान हुने छ । निर्वाचन आयोगका अनुसार आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारणलगायतका गतिविधि क्रमिक रूपमा अघि बढाइने छ ।

You may also like