काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण निजी क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले ५५ जिल्लाका १ हजार ९५७ इकाइ प्रभावित भएको जानकारी दिए। तीमध्ये ४१९ निजी संरचनामा मात्र ३६ अर्ब रुपैयाँ बराबरको क्षति भएको बताउँदै उनले यो विवरण प्रारम्भिक मूल्याङ्कन मात्र भएको स्पष्ट पारे ।
उनका अनुसार निजी क्षेत्रमा भएको क्षतिमध्ये करिब २३ अर्ब रुपैयाँ बीमा दाबी दर्ता भएको छ । सरकार व्यवसायमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने,’सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाइनेछ, निजी क्षेत्रमा नियन्त्रणमुखी प्रणाली बनाइनेछैन ।’
खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनअनुसार सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने पुनः दोहोर्याए। अर्थतन्त्रलाई गतिशील बनाउन पूँजीबजार र घरजग्गा क्षेत्र सक्रिय बनाउनुपर्नेमा पनि उनको जोड छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले करका विषयमा एकद्वार प्रणाली लागू हुनुपर्ने, प्रविधिमैत्री कर प्रणाली बनाउनुपर्ने, सबै प्रकारका कारोबारलाई एउटै प्रकृतिमा दाँज्न नहुने लगायतका सुझाव दिए । उनले राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा निर्देशिका खारेजको माग राखे ।
घरजग्गा व्यवसायमा देखिएको सुस्ततालाई अन्त्य गर्न पनि आवश्यक व्यवस्था गर्न चेम्बरले सरकारलाई सुझाव दिएको छ । व्यावसायिक वातावरणमा सुधार ल्याउन तत्काल लगानी प्रवर्द्धन नीति ल्याउन माग गरिएको छ ।




