काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल, सरकार, जेनजीका प्रतिनिधि र आयोगबीच चार पक्षीय छलफल गर्ने तयारी गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनको वातावरण निर्माणका लागि सबै सरोकारवाला पक्षबीच संवाद गर्न लागिएको हो ।
आइतबार निर्वाचन आयोगमा आयोजित पूर्वतयारी सम्बन्धी छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित सरकारी अधिकारीहरू सहभागी थिए । उक्त बैठकमा भण्डारीले आयोगले निर्वाचन वातावरण सुचारु राख्न सबै पक्षसँग संयुक्त अन्तरक्रिया गर्ने तयारी भएको जानकारी दिए ।
उनले सरकारले हालसम्म दिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै निर्वाचनको वातावरण निर्माण, स्रोत–साधन व्यवस्थापन तथा सुरक्षाको तयारीमा सरकारको महत्त्वपूर्ण भूमिकाको अपेक्षा रहेको बताए ।
आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दल, नेपाल सरकार, युवा पुस्ताका प्रतिनिधि तथा आयोगबीच हुने आगामी छलफल र अन्तरक्रिया कार्यक्रममा सरकारबाट आवश्यक सहजीकरणको आग्रह गरिएको उल्लेख छ।
चार पक्षीय छलफलको मिति तय हुन बाँकी रहेको आयोगले जनाएको छ ।




