कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : महसुस हुने गरी सेवा प्रवाहमा लाग्नू

by समतल अनलाइन
49Shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको अपेक्षालाई ध्यानमा राखेर काम गर्न र उनीहरूलाई न्याय पाएको अनुभूति दिलाउने गरी जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

आइतबार गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा मन्त्री अर्यालले सबै कर्मचारीलाई सक्रिय नागरिकजस्तै जिम्मेवारी निर्वाह गर्नुपर्ने र अहिलेको सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेकाले पूर्ण तयारीसहित चुनावमा केन्द्रित हुन आग्रह गरे।

उनले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयले पाउने जिम्मेवारीलाई प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिँदै कर्मचारीहरूले जनसरोकारका विषयमा चासो राखेर काम गर्नुपर्नेमा जोड दिए । मन्त्रीको भनाइका अनुसार जनताले परिवर्तन महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्नु जरुरी छ।

गृहमन्त्रीले मन्त्रालयमा गठन गरिएको जेनजी समन्वय समिति तथा पीडितका गुनासा सम्बोधन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने र यसो गर्न सके मात्र बाहिर फैलिने भ्रमपूर्ण धारणा हटाउन सकिने बताए ।

यस अवसरमा गृहमन्त्रीलाई जानकारी गराउँदै गृहसचिव दंगालले मन्त्रालय तथा मातहतका कर्मचारीको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए । उनले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीसहित दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको र नागरिकता नियमावली पनि अन्तिम चरणमा रहेको उल्लेख गरे।

सचिव दंगालले विभागीय प्रमुखहरूलाई मन्त्रालयले अघि सारेको तत्काल सुधार कार्य योजनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।

You may also like