बुटवल । श्री नेवाः पुच (नेवा सेवा समाज विकास परिषद) केन्द्रीय कार्यालय बुटवलले २५औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न गरेको छ।

सभामा अध्यक्ष काजीमान श्रेष्ठले विगतको काम, उपलब्धि र आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले नेवाः समुदायले नगरको सांस्कृतिक विविधता जोगाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै नगरपालिका आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सामुदायिक कार्यक्रमसँग साझेदारीमा काम गर्न तत्पर रहने बताए।
उनले भने, “नेवाः पुचको सक्रियता र समर्पणले बुटवललाई सांस्कृतिक शहरका रूपमा चिनाउन मद्दत पुर्याएको छ। परम्परा र पहिचान जोगाउन गरेको प्रयास प्रशंसनीय छ।

अध्यक्ष श्रेष्ठका अनुसार नेवाः पुचले सापारु (गाईजात्रा) पर्वमा सरकारी बिदा लागू गराउन वर्षौँदेखि निरन्तर पहल गरिरहेको थियो र सो पहलअनुसार २०७८ सालदेखि संघीय सरकारले नेवाः समुदायका लागि सार्वजनिक बिदा प्रदान गरेको हो। यस वर्ष बुटवल उपमहानगरपालिकाले पनि स्थानीय बिदा दिएकोमा उनले आभार प्रकट गरे। फलबारीमा निर्माण भइरहेको शंखधर साख्वा वाटिकाको काम अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले संस्थाले सांस्कृतिक तथा भौतिक विकासलाई निरन्तर प्राथमिकतामा राखेको बताए।
सभामा विगत वर्षका प्रमुख उपलब्धिहरूमा अक्षयकोषमा रकम वृद्धि, क्रियापुत्री भवनमा सुविधा विस्तार, कल्याण कोष सुदृढीकरण, कार्यालयमा एलुमिनियम पार्टिसन र लालपर्जा प्रक्रिया पूरा, सभा हलले आयकर चुक्ता प्रमाणपत्र प्राप्त, तामनगर मन्दिरलाई सहयोग, नेपाल सम्बत स्वागत कार्यक्रम सफल सञ्चालन तथा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नुजस्ता गतिविधि उल्लेख गरियो। संस्थामा हाल ७९२ सदस्यता कायम रहेको प्रतिवेदनमा उल्लेख छ।
जेष्ठ नागरिकलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको छ ।
साथै, एसईईमा उत्कृष्ट विद्यार्थी सेजनमान सैजु र सुदिक्षा श्रेष्ठलाई छात्रवृत्ति वितरण, नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
भिमसेन नेवा समाजका अध्यक्ष सहदेव श्रेष्ठ,उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे ,बुटवल उपमहानगर पालिका वडा ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ र नेपाल मगर संघकी बसन्ती साठिघरे लगायतले सुभकामना व्यक्त गर्दै जातीय भाषा र सांस्कृतिक पहिचान संरक्षणमा समुदायले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रम संचालन सचिव लक्ष्मी श्रेष्ठ र स्वागत मन्तव्य रविन्द्र कक्षपतिको रहेको थियो ।
त्यसैगरी अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। काजीमान श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा रविन्द्र कक्षपति, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा विक्रम कुमार राजभण्डारी, सह–सचिवमा हिरा कुमारी श्रेष्ठ, कोषाध्यक्षमा तुप्ला लाकौल चयन भएका छन्। सदस्यहरूमा दिल्लीकुमार श्रेष्ठ, अजय श्रेष्ठ, निर्मला श्रेष्ठ, दिब्य राजभण्डारी, समा श्रेष्ठ, दिपक कुमार श्रेष्ठ, आनन्द श्रेष्ठ, सिता श्रेष्ठ, दिपक श्रेष्ठ, सम्झना श्रेष्ठ र सजन कुमार श्रेष्ठ रहेका छन्।



