बुटवलमा सिएनआईवाईइएफद्वारा ट्राफिक सचेतना अन्तक्रिर्या कार्यक्रम र स्पिड लिमिट बोर्ड जडान

by समतल अनलाइन
18Shares

बुटवल। युवा उद्यमीहरूको संस्था सिएनआईवाईइएफले बुटवलमा ट्राफिक सचेतना अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार भएको उक्त कार्यक्रममा युवाहरूलाई सडक सुरक्षा, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी र ट्राफिक नियमको व्यवहारिक पक्षबारे जानकार बनाउने उद्देश्य राखिएको थियो।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा र वरिष्ठ असई ज्ञान प्रसाद शर्माले विषयगत प्रस्तुति दिएका थिए। उनीहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै नेपालमा प्रत्येक वर्ष बढ्दै गएको सडक दुर्घटनाका कारण, रोकथामका उपाय, र चालकहरूले बहन गर्नुपर्ने जिम्मेवारीबारे विस्तारमा जानकारी दिए। प्रस्तुत तथ्यांकअनुसार, सडक दुर्घटनाका ७० प्रतिशत कारण मानवीय गल्ती हुन्—जस्तै मोबाइल चलाउँदै सवारी चलाउने, ओभरस्पिड गर्ने, मदिरा सेवन गरी ड्राइभ गर्ने, ट्राफिक संकेत अवज्ञा गर्ने तथा हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने। यस्तै, १० प्रतिशत दुर्घटनामा सवारीसाधनका यान्त्रिक समस्या, १० प्रतिशतमा सडकको भौतिक अवस्था र बाँकी १० प्रतिशतमा वातावरणीय कारणले भूमिका खेलेका छन्।

एसपी शर्माका अनुसार, केवल यो वर्ष साउन महिनासम्ममै देशभर ४३ हजार १६५ दुर्घटना दर्ता भएका छन् र ती घटनामा २ हजार ५४९ जनाले ज्यान गुमाएका छन्। “यो तथ्यांकले हामी सबैलाई जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न प्रेरित गर्छ,” उनले भने। त्यस्तै, वरिष्ठ असई ज्ञान प्रसाद शर्माले सवारी चालकले दैनिक जीवनमै पालन गर्नुपर्ने व्यवहारिक सावधानीहरू—हेल्मेटको सही प्रयोग, स्पिड लिमिटको पालना, ट्राफिक संकेत बुझ्ने तरिका, दायाँ–बायाँ अवलोकन गर्ने बानी तथा यात्रु सुरक्षाको जिम्मेवारी—बारे विस्तृत रूपमा प्रशिक्षण दिए।

कार्यक्रममा सिएनआईवाईइएफका अध्यक्ष राजन कसजुले राज्यले ट्राफिक व्यवस्थापनमा अझ कडाइ आवश्यक रहेको बताएका छन्। उनले विशेष गरी सीमा नाका र प्रमुख सडकखण्डमा निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भारतबाट नेपाल प्रवेश गर्ने पर्यटक तथा सवारीका लागि प्रभावकारी चेकपोइन्ट सञ्चालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको संचालन संस्थाका एक्जिक्युटिभ डाइरेक्टर अभिनव थापाले गरे। थापाले सहभागी युवाहरूलाई केवल नियम बुझ्न मात्र होइन, सिकेका कुरा व्यवहारमा उतार्न र परिवार तथा साथीहरूमा सडक सुरक्षा सम्बन्धी सन्देश पुर्‍याउन आग्रह गरे।

यस अवसरमा सिएनआईवाईइएफले बुटवल–भैरहवा सडकका तीन स्थान—योगिकुटी होटेल पौवा अगाडि, एसआर होटेल–ड्राइभर टोल अगाडि, र मंगलापुर जुनकिरी रेस्टुरेन्ट अगाडि मा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीका लागि स्पिड लिमिट संकेत बोर्ड जडान गरिएको संस्था अध्यक्ष राजन कसजुले जानकारी दिए।

You may also like

This will close in 0 seconds