टसमस भएनन् गगन– विश्व : चुनावअघि नियमित नभए विशेष महाधिवेशन

by समतल अनलाइन
25Shares

काठमाडौं । महाधिवेशन कहिले गर्ने भन्ने गलफतीमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लम्बिँदै गएको छ । कांग्रेसको एक महिनादेखि जारी बैठक एउटै विषयमा अड्किएको छ– महाधिवेशन चुनाव अघि कि पछि ?

संस्थापन पक्ष अहिले चुनावको तयारी गर्नुपर्ने भन्दै चुनाव पछि महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ भने इतर पक्ष चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छ ।

दुवै पक्षको अडानका कारण बैठक लम्बिँदै गएपनि कांग्रेस निर्णयविहीन बनेको छ ।

कांग्रेसभित्रको महाधिवेशन किचलो चुनावमा टिक कसले बाँड्ने भन्ने प्रतिस्पर्धाका कारण उत्पन्न भएको सजिलै अनुमान गर्न सकिन्छ ।

५४ प्रतिशतको हस्ताक्षर गराएर तम्तयार इतर पक्षले संस्थापन पक्ष नियमित महाधिवेशन गर्न तयार नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

बिहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

थापा चुनावअघि नियमित महाधिवेशनको पक्षमा थिए । तर केन्द्रीय कार्यसमितिमा सबैको धारणा बुझिसकेपछि विशेष महाधिवेशन गर्नुपर्ने निचोडमा आफू पुगेको उनको भनाइ छ ।

‘धेरै साथीले तत्काल नियमित महाधिवेशन गर्न नै सकिँदैन भनेपछि मैले त्यसलाई इन्कार पनि गर्न भएन, नियमित महाधिवेशन गर्न नसक्ने हो भने २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय लिऔं,’ थापाले कार्यसमिति बैठकमा भनेका छन् ।

विशेष महाधिवेशनका लागि तलका समितिहरूको अधिवेशन गर्नु पर्दैन । १४ औं महाधिवेशनकै प्रतिनिधिहरू सहभागी हुने भएकाले लामो प्रक्रिया हुँदैन ।

थापाले यसअघि १८ कात्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका नेताहरूले सहमहामन्त्री महेन्द्र यादवमार्फत त्यही दिन २७–२९ वैशाखमा महाधिवेशन गर्ने ‘काउन्टर’ प्रस्ताव ल्याएका थिए ।

केन्द्रीय कार्यसमितिले बहुमतबाट नियमित महाधिवेशन रोक्न सक्ने भए पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेकाले त्यसलाई रोक्न मिल्ने वैधानिक व्यवस्था छैन ।

विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गरिए तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमै विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ असोजदेखि भइरहेको छ । बैठकमा सबै पदाधिकारी तथा सदस्यहरूले बोल्ने क्रम बिहीबार सकिएको छ । तर महाधिवेशनकै विषयमा मतैक्य हुन नसक्दा कुनै निर्णय हुन सकेको छैन ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का सबै नेता र पक्षसँग छलफल गरेर सहमतिबाटै निर्णय गरिने बताउँछन् । ‘पार्टीभित्र विभाजित मानसिकता नल्याउन सहमतिबाटै निर्णय लिन गृहकार्य भइरहेको छ,’ उनी भन्छन् ।

निर्वाचन अगाडि महाधिवेशन हुनुपर्ने अडानमा दुई महामन्त्री टसमस नभइरहेका बेला संस्थापन पक्षबाट दुई थरी विचार आएका छन् । संस्थापन पक्षका सात पूर्वपदाधिकारी निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडानमा छन् भने अर्को समूह निर्वाचन अगाडि नै नियमित महाधिवेशनको तालिका ल्याउनुपर्ने पक्षमा उभिएको छ ।

You may also like

This will close in 0 seconds