काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफूहरू एक पछि अर्को परिवन्दमा फस्दै गएको भन्दै हैरानी व्यक्त गरेका छन् ।
चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको महत्वांक्षी योजना बनाएका धुर्मुस– सुन्तली को जोडी (सीताराम कट्टेल र कुञ्जना घिमिरे) रंगशाला निर्माण गर्दा लागेको रकम तिर्न नसकेपछि सिंहदरबार धाइरहेका छन् ।
उनी हातभरी फाइल बोकेर सिंहदरबारका कोठा–कोठमा धाइरहेको भेटिन्छन् । तर, राज्यले नसुनेको उनीहरूको गुनासो छ ।
क्रिकेट रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख रुपैयाँ संकलन गरेका धुर्मुस–सुन्तलीले हाल १८ करोड ४३ लाख रुपैयाँ तिर्नुपर्ने छ । सोही रकमका लागि उनीहरू भोक, प्यास नभनी राज्यका निकायहरूमा दौडधुप गरिरहेका छन् ।
हैरान भएपछि धुर्मुसले रंगशाला निर्माणको आय–व्यव सार्वजनिक गर्दै भनेका छन्, ‘५७ करोड ९२ लाख खर्च भनिएको छ । हो त्यही हो वास्तविक खर्च । १८ करोड ४३ लाख तिर्नुपर्ने हो । उधारो हो, त्यही हो तिर्नुपर्ने हिसाब । ३९ करोड ८० लाख नगद जिन्सी गरेर रकम संकलन गरेका हौँ हामीले । कहीँ लुकाउन खोजेका होइनौँ, छिपाउन खोजेका होइनौँ ।’
उनले आफूहरू परिवन्दमा फस्दै गएको बताएका छन् । आफ्नो योजनालाई महत्वाकांक्षी भनिएको गुनासो गर्दै धुर्मुसले प्रश्न गरेका छन्, ‘एक पछि अर्को परिवन्दमा यसरी हामी फस्दै फस्दै फस्दै गयौँ । ल, भनियो यो त महत्वाकांक्षी परियोजना, यो त राज्यले गर्नुपर्ने चिज, घाँटी हेरेर हाड निल्नुपर्ने । यो गलत निर्णय । यो कसरी महत्वाकांक्षी थियो ?’
आफ्ना दाइ भाउजुले पाएको सास्ती देखेपछि धुर्मुसका भाइ कुमार कट्टेल (जिग्री)ले दाजुको तस्बिर राख्दै भनेका छन्, ‘रातदिन सिंहदरबारको बास । अनि अहिलेको दाइको अवस्था । देश बनाउनु पर्छ भन्ने युवाले पाएको प्रोत्साहन ।’
धुर्मुस–सुन्तलीले चितवनस्थित कृषि क्याम्पसको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरेपनि रकम अभावका कारण पूरा गर्न सकेनन् । अधुरो रहेको उक्त रंगशाला हाल सरकारले नै पूरा गर्नेगरी काम अगाडि बढाएको छ ।





