विदेशमा रहेका नेपालीको मताधिकारबारे प्रधानमन्त्रीले गरिन् छलफल

by समतल अनलाइन
62Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न सक्ने सम्भावनाबारे आज उच्चस्तरीय छलफल गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोलीसँगै कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो।

बैठकमा नीति अनुसन्धान प्रतिष्ठानले विदेश र आफ्नो निर्वाचन क्षेत्रबाहिरबाट मतदान गर्न सकिने सम्भावित विकल्प र त्यससम्बन्धी अध्ययनको सारांश प्रस्तुत गरेको थियो ।

प्रस्तुति सुनेपछि प्रधानमन्त्री कार्कीले कम्तीमा अन्तरनिर्वाचन क्षेत्रबाट मतदान प्रणाली लागू गर्न सकिने दिशामा काम अघि बढाउनुपर्ने धारणा राखिन् । उनका अनुसार हालको व्यवस्थामा मतदाता आफ्नो क्षेत्रमा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूलाई ठूलो आर्थिक बोझ परेको छ । जसले भ्रष्टाचार र अन्य बेथितिलाई निम्त्याएको छ ।

प्रधानमन्त्रीले भनिन्, ‘यदि पुरानै शैलीमा चुनाव गर्नुपर्छ भने परिवर्तनका आन्दोलनको अर्थ रहँदैन । अब सन्देशमूलक काम गरौँ, दीर्घकालीन प्रणाली बनाऔँ । यसका लागि राजनीतिक सहमति र सबै पक्षको तयारी आवश्यक छ । हाम्रा सन्तान डिजिटल युगमा अगाडि छन्, राजनीतिक नेतृत्वले पनि त्यही चेत बुझ्नुपर्छ। यो चेत पहिले पाएको भए भदौ २३ र २४ का घटना हुनुपर्ने थिएन।’

त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले पनि यस पटकको निर्वाचन विगतभन्दा फरक र सुधारसहित हुनुपर्ने बताए।

You may also like

This will close in 0 seconds