रामकुमारी र किसानलाई प्रचण्डले भने : दम्भ र अहंकारले ढलेको घरमा फर्किने पनि उस्तै

by समतल अनलाइन
63Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेले सुरु गरेको ‘घर फर्क’ अभियानप्रति कटाक्ष गरेका छन्।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजित ‘एकता समायोजन’ कार्यक्रममा बोल्दै उनले नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू एमालेतिर फर्किएको प्रसंग उठाउँदै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

‘केही दिनअघि यही मञ्चमा ‘घर फर्क’ भन्ने कार्यक्रम भयो। तर म त भन्छु पहिले नै भत्किएको र जलेको घरमा कसरी फर्किन्छ ? दम्भ र अहंकारले ढलेको त्यस्तो घरमा फर्किने मानिस पनि उस्तै होलान्।’

त्यस अवसरमा एमाले अध्यक्ष केपी ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्धाश्रम’ भनेको कुरामाथि पनि प्रचण्डले आपत्ति जनाए । उनले ओलीमाथि आफ्नै राजनीतिक अभिभावकहरूको अपमान गरेको आरोप लगाए ।

उनले भने, ‘केपी ओलीज्यूले यहाँ उपस्थित नेताहरूलाई वृद्धाश्रम भनेका रहेछन् । आफ्ना वरिष्ठ नेताहरूप्रति त्यस्तो व्यवहार गर्नु त सबैभन्दा ठूलो अपमान हो । अझै युवाहरूले सुशासन र पारदर्शिताका लागि गरेको आन्दोलनमा दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन् भने त्यो विडम्बनापूर्ण हो।’

प्रचण्डले अगाडि भने, ‘हामी नै ती जेन–जेड युवाहरूको आन्दोलनका पक्षमा सबैभन्दा पहिला उभिएका थियौं। सुशासन र परिवर्तनको पक्षमा युवाहरूले उठाएको आवाजलाई हामीले सधैं समर्थन गर्दै आएका हौं।’

You may also like

This will close in 0 seconds