काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा प्रणाली कमजोर बनेको आरोप लगाएका छन्।
बुधबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली देशको सेनाको ठूलो विमान सयौँ टन सामानसहित अवतरण गरेको दाबी गर्दै सरकार यसबारे मौन रहेको बताए ।
‘आज हाम्रो राष्ट्रिय सुरक्षा हेर्नुस् । अस्ति तीन दिनअघि मात्रै एउटा शक्तिशाली देशको सेनाको धेरै ठूलो जहाज सयौँ टन सामान ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । तर किन आयो भन्नेबारे सरकारसँग कुनै जवाफ छैन।’ उनले भने ।
रावलका अनुसार गएको पुसदेखि जेठ महिनासम्म त्रिभुवन विमानस्थलमा यस्ता विमानहरू बारम्बार ओर्लिँदै आएका छन् । तर सरकारले न त त्यसको जानकारी दिएको छ । न त सार्वजनिक ढङ्गले व्याख्या गरेको छ।
रावलले सरकारको यस किसिमको उदासिनताका कारण भदौ २३ र २४ गते देशले ‘अकल्पनीय क्षति’ बेहोर्नु परेको संकेत समेत गरे। नेता रावलले राष्ट्रिय सुरक्षा सवालमा पार्टी नेतृत्वले गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।





