काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूको सबैभन्दा ठूलो पङ्क्ति एमालेमा रहेको दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क’ अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले युवाको प्रमुख केन्द्र भएको बताएका हुन् ।
उनका अनुसार फेसबुकमा एमाले कम देखिए पनि वास्तविक जीवनमा एमाले प्रत्येक घर–घरमा पुगेको पार्टी हो।
‘नेकपा एमाले कुनै सानो खोल्सो होइन, यो महासागरजस्तो संगठन हो,’ अध्यक्ष ओलीले भने, ‘युवा छैन एमालेसँग भन्नेहरूलाई सोध्नुपर्छ-अनि कोसँग छन् त युवा ? फेसबुकका होइन, घर–घरका युवा नेकपा एमालेसँग छन् । फेसबुकमा हेर्ने हो भने एमाले रित्तो देखिन्छ, तर वास्तवमा एमाले जनतामाझ गहिरोसँग जरा गाडेर बसेको छ।’
उनले एमाले सङ्कीर्ण सोचले होइन, राष्ट्र निर्माणको व्यापक दृष्टिले अघि बढिरहेको समेत बताए।
‘हामी राष्ट्र निर्माणको महाअभियानमा जुटेका छौँ । अहिलेको घर फर्क अभियान, राष्ट्रिय शक्ति निर्माण अभियान र नेकपा एमालेमा सामेल हुने अभियानको मुख्य निष्कर्ष यही हो-नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा रूपान्तरण गरौँ, जसले देशलाई सही दिशामा अघि बढाउँछ।’ ओलीले सम्बोधनको क्रममा भने ।





