मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

by समतल अनलाइन
59Shares

काठमाडौँ । मधेश प्रदेशमा भएको नयाँ मुख्यमन्त्री नियुक्तिलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सोमबार रक्कीप्रसाद साह र सुजित यादवले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । सर्वोच्चले उक्त रिटमाथि छलफलका लागि मंगलबार सुनुवाइको मिति तोकेको छ।

साहका अनुसार, संविधानको धारा १६८ को उपधारा (२) अझै लागू अवस्थामा रहँदा अर्को उपधारामा आधारित भएर नयाँ सरकार गठन गर्नु संविधान उल्लङ्घन भएको दाबी गरिएको छ। रिट निवेदनमा उक्त धाराको आधारमा मात्र नयाँ सरकार गठन हुनुपर्ने उल्लेख गरिएको छ।

गत शनिबार मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले पदबाट राजीनामा दिएपछि सोमबार बिहान करिब ४ बजे बर्दिबासस्थित पानस होटलमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८(३) अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ ग्रहण गराएकी थिइन्।

सात राजनीतिक दलहरूले उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा जाने तयारी गरेका थिए र सोही क्रममा ७४ जना प्रदेश सांसदका हस्ताक्षरसमेत सङ्कलन गरिएको थियो ।

You may also like

This will close in 0 seconds