आपतकालमा भैरहवा विमानस्थल किन विकल्प बन्न सकेन ?

by समतल अनलाइन
67Shares

बुटवल । शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका बत्ती अचानक बिग्रिएपछि चार घण्टा उडान ठप्प भयो ।

काठमाडौँको आकाशमा रहेका कतार एयरवेज, फ्लाई दुबई, कोरियन एयरलगायतका विमानहरूले नेपालमा अवतरण गर्न नसकेर ढाका, दिल्ली र लखनउतर्फ मोडिनुपर्यो ।

नेपालमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएर बसे पनि आकस्मिक अवस्थामा एकपटक पनि प्रयोग भएनन् ।

भैरहवा ३० अर्ब लागतमा बनेको छ । पोखरा विमानस्थलमा झन्डै २८ अर्ब लगानी भएको छ । तर दुवैमा स्थायी अन्तर्राष्ट्रिय उडान छैन ।

विमानस्थलका संरचना तयार भए पनि वैकल्पिक अवतरण सुविधा व्यवहारमा सुचारु नभएको स्पष्ट भयो ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार नेपालमा हवाई इन्धन अत्यधिक महँगो छ । ग्राउन्ड ह्यान्डलिङ र होटल सेवाको कमी छ । त्यसैले विदेशी एयरलाइन्सले नेपालका अन्य विमानस्थललाई वैकल्पिक सूचीमा राख्दैनन् ।

त्रिभुवन विमानस्थलमा समस्या हुँदा पनि भैरहवा र पोखरा निष्क्रिय रहनु नीतिगत कमजोरीको उदाहरण मानिएको छ ।

अर्बौँ लगानी भएर पनि विमानस्थलहरू खाली बस्नु, ऋणको किस्ता सुरु हुनु र आम्दानी नहुनु अब गम्भीर प्रश्न बनेको छ ।

विशेषज्ञहरू भन्छन्– अब सरकारले तुरुन्त व्यवसायिक रणनीति बनाउनु पर्नेछ । अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य बढाउनुपर्नेछ । इन्धन मूल्य पुनरावलोकन गर्नुपर्नेछ ।

नेपालसँग तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् तर पूर्ण रूपमा चलिरहेको एकमात्र काठमाडौँ मात्र । आकस्मिक अवस्थामा पनि आफ्नै विमानस्थल प्रयोग नहुनु देशको उड्डयन क्षमतामाथिको ठूलो प्रश्न हो ।

सरकार र नीति निर्माता अब भैरहवा र पोखरालाई कागजमा होइन व्यवहारमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने दबाब बढेको छ ।

You may also like