काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै उनले हालसम्म ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका ७१० थान हतियार फिर्ता भइसकेको जानकारी दिए । तर केही हतियार अझै फिर्ता हुन बाँकी रहेको उनले बताए ।
उनका अनुसार हालसम्म फरार रहेका १४ हजार ५४९ कैदीमध्ये करिब ६५ प्रतिशत अर्थात् ९ हजार ५२१ जना समातिए वा स्वेच्छाले फिर्ता आएका छन्, तर झन्डै ३५ प्रतिशत अर्थात् ५ हजारभन्दा बढी अझै बाहिर रहेको जानकारी दिए।
गृहमन्त्री अर्यालले फरार कैदी र हतियार फिर्ता गराउने अभियानमा नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताए।
उनले भने, ‘सुशासन दिन सकेनौँ भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने ठूलो सन्देश अहिले प्राप्त भएको छ । यस्तो अवस्था केवल सत्ता परिवर्तनको होइन, सुरक्षा संकटको पनि संकेत हो ।’
सरकारले पटक–पटक सूचना जारी गर्दै फरार कैदी र हतियार बुझाउन आह्वान गरेको स्मरण गर्दै गृहमन्त्री अर्यालले भने, ‘अब हामी विशेष अपरेसनमार्फत कैदी र लुटिएका हतियार फिर्ता ल्याउनेछौँ।’




