प्रधानमन्त्री कार्कीको आह्वान : चुनाव र अर्थतन्त्र दुवैमा विश्वासको वातावरण बनाऔँ

by समतल अनलाइन
27Shares

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्र, उद्योगी तथा व्यवसायीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरेकी छन् ।

शुक्रबार राजधानीमा आयोजित ‘राष्ट्रिय आर्थिक बहस २.०’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको बताउँदै सबैलाई सहकार्य र विश्वासको वातावरण सिर्जना गर्न आह्वान गरिन्।

‘म सबै उद्यमी, किसान र युवाहरूलाई भन्न चाहन्छु – डराउने होइन, आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब आशङ्का र भय पाल्ने समय होइन, हातेमालो गर्दै अघि बढ्ने समय हो।’

उनका अनुसार पछिल्ला अध्ययनहरूले नेपालको आर्थिक वृद्धिदरमा सुधार र मूल्यवृद्धिमा कमी आउने संकेत दिएका छन् । उनले भनिन्, ‘यो देखाउँछ कि हाम्रो प्रयास सही दिशामा छ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनुपर्छ।’

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तयारी भइरहेको जानकारी दिँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्ने अवसरका रूपमा आगामी चुनावलाई लिनुपर्ने उल्लेख गरिन्।

‘निर्वाचनमार्फत देशलाई स्थायित्व र विश्वास दिलाउने प्रयासमा छौँ,’ उनले भनिन्, ‘स्वच्छ र सफल निर्वाचनका लागि निजी क्षेत्रको भूमिकासमेत महत्त्वपूर्ण रहनेछ।’

साथै, औद्योगिक तथा व्यापारिक क्षेत्रमाथि भएका आक्रमणहरू अस्वीकार्य भएको स्पष्ट गरिन् । ‘केही उच्छृंखल समूहहरूले राज्यबिहिनताको फाइदा उठाउँदै उद्योग र व्यापार क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ,’ उनले भनिन्।

‘जेनजी आन्दोलनमा घाइते युवाहरूलाई जस्तै, प्रभावित निजी क्षेत्रलाई पनि तत्काल सहयोग र राहत प्रदान गरिनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले कुनै कसर बाँकी राख्ने छैन।’

You may also like