काठमाडौँ । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले आजको प्रदेशसभा बैठकमा असामान्य ढङ्गले विरोध प्रदर्शन गरेका छन्।
सांसद अन्सारीले दल र जनप्रतिनिधिहरूको नैतिकता समाप्त भएको दाबी गर्दै तीव्र असन्तुष्टि व्यक्त गरे । मुख्यमन्त्री जितेन्द्र सोनालले विश्वासको मत लिँदै गर्दा अन्त्यतिर उनले बोल्ने समय मागे पनि सभामुख रामचन्द्र मण्डलले माइक बन्द गरेपछि अन्सारीले विरोधस्वरूप अनुहारमा कालो मोसो दलेका हुन्।
शनिबार बसेको प्रदेशसभा बैठकमा सांसद रहबर अन्सारीले मुख्यमन्त्री सोनलको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत नदिने स्पष्ट रूपमा बताए ।
सांसद अन्सारीले दल र जनप्रतिनिधिहरूको नैतिक धरातल समाप्त भएको भन्दै तीव्र आलोचना गरे । उनले सोनलको सरकार प्रदेशका सांसदहरूको पहलमा नभई केन्द्रको निर्देशनमा बनेको आरोप पनि लगाए।
‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा मोसो लगाउँदै भने, ‘मधेशका ६४ लाख जनताको अवस्था के छ ?’ सदनमा प्रश्न गर्दै उनले भने, ‘जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर अवस्था बदलिएन ।’
घटनापछि सभाभित्र केही बेर हङ्गामा पनि भएको थियो ।




