काठमाडौँ । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज सम्झौतासम्बन्धी अनियमितताको आरोपमा ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्।
प्रहरीले प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने क्रममा कार्कीलाई नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार ६६ वर्षीय कार्कीलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको हो ।
प्रहरीका अनुसार,प्रारम्भिक अनुसन्धानमा कम्पनीलाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिने सम्झौता भएको र सम्झौतामा उल्लेख भएको ४६०६ नम्बरको जग्गासँगै ४६०५ नम्बरको कित्ता समेत अनुमति वा निर्णयबिना लिजमा दिएको देखिन्छ ।
अनुसन्धानअनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा थामसेर्कु ट्रेकिङ प्रालिसँग लिजमा दिने क्रममा नियमानुसार संचालक समितिको निर्णयबिना र बिनाआधार अर्को कित्ता पनि थप गरी लिज सम्झौता गरिएको थियो।
सो क्रममा ट्रष्टका अधिकारी, कर्मचारी र अन्य व्यक्तिहरूले गैरकानूनी लाभ लिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
अब कार्कीको बयानका आधारमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।




