नाफा कमायो भनेर अपराधी ठहर गर्ने प्रवृत्ति गलत, लुटपाट गर्नेमाथि कारबाही होस् : चन्द्र ढकाल

by समतल अनलाइन
28Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका छन् । शनिबार काठमाडौँमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा यस्तो माग गरेका हुन् ।

उनले आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नगरिए दण्डहीनता मौलाउने जिकिर गरे । विभिन्न पेसा, व्यवसायमा संलग्नले सुरक्षित रूपमा काम गर्न पाउने अधिकार सुनिश्चितता गर्न उनले माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधका रूपमा चित्रित हुनु दुःखद भएको बताए ।

अध्यक्ष ढकालले विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुनु दुःखद भएको बताए ।

‘युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टक्टक्याउँदै जुरमुराउन खोजिरहेको छ’, ढकालले भने, ‘हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर, निजी क्षेत्र विगतका आन्दोलनहरू भन्दा यस पटक बढी आहत भएको छ ।’

‘व्यापार व्यवसायमा आगो लागेको छ । यो घटनाले सबैले आफैँले आफैँलाई फर्केर हेर्न पनि बाध्य पारेको छ । हामी पनि समीक्षा गर्दैछौं, हामी कहाँ चुक्यौँ’, ढकालले भने, ‘अनि समाज कहाँ चुक्यो । हामी कहाँ नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ । तर, व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो । यही फरक बुझाइका कारण निजी क्षेत्रमा प्रहार हुने गरेको छ ।’

You may also like