काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र बहुआयामिक पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले केही नेताहरूले उपद्रो मच्चाउँदै आफ्नै राजीनामा मागेको भन्दै असन्तुष्टि जनाएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी पुनर्गठनको आवश्यकता औँल्याएका हुन् ।
उनले अध्यक्ष ओलीमाथि लक्षित टिप्पणी गर्दै पार्टीलाई नयाँ स्वरूपमा पुनर्गठन गर्नुपर्ने धारणा राखेका हुन् । भट्टराईले शनिबार फेसबुकमा भनेका छन्, ‘कमरेड मदन भण्डारीले प्रतिपादन गर्नुभएको विचारका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी नयाँ चुनौतीको सामना गर्न एकताबद्ध बन्नुपर्छ।’
२३ र २४ गतेको जेनजी आन्दोलनपछि भट्टराई पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । तर संस्थापन पक्ष भने अझै पनि ओलीको नेतृत्वमा अडिग देखिन्छ र अन्य वैकल्पिक धारणा स्वीकृत गर्ने तयारी देखिँदैन।
यता विद्या भण्डारी निकट समूहले आगामी ११औँ महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध ईश्वर पोखरेललाई नेतृत्वको प्रतिस्पर्धामा उतार्ने तयारी गरेको बताइएको छ ।
यसै सन्दर्भमा भट्टराईले फेसबुकमार्फत आह्वान गर्दै पार्टीलाई पुनर्गठन गर्न एकताबद्ध हुन भनेका हुन् । उनले सबैको सम्मान र आत्मगौरकयुक्त एमाले बनाउने, सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृति एमाले, क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैलीयुक्त एमाले, विविधता बिचको एकतामा विश्वास गर्ने एमाले बनाउने पनि भनेका छन् ।




