भीम रावलपछि अशोक राईलाई फकाउँदै प्रचण्ड-माधव

by समतल अनलाइन
27Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पार्टी एकताको प्रस्ताव राखेका छन्। सो प्रस्तावपछि गत बुधबार जसपाको केन्द्रीय समिति बैठक बसेको थियो ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत १० वामपन्थी दलहरूबीच भएको एकता प्रक्रियापछि नेकपा गठन गरेका प्रचण्ड र माधव नेपालले जसपाका अध्यक्ष राईसँग पनि एकीकरणको सम्भावनाबारे पहल अघि बढाएका हुन्।

जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार, प्रस्तावबारे हालै बसेको बैठकमा छलफल भएको छ। बैठकले वाम शक्तिबीच एकता वा गठबन्धनका विकल्प खुला राख्ने निर्णय गरेको उनले बताए।

श्रेष्ठले भने, ‘नीति र सिद्धान्त मिले एकता सम्भव छ, नभए चुनावी सहकार्यका रूपमा अघि बढ्न सक्छौँ।’ वार्ताका लागि उनको नेतृत्वमा चार सदस्यीय टोली बनाइएको छ।

अशोक राई नेतृत्वको जसपाले यसअघि राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीसँग कार्यगत एकता घोषणा गरिसकेको छ। साथै, जसपा, लोसपा र जनमत पार्टीबीच संवाद भइरहेको जनाइएको छ। यसबीच, उपेन्द्र यादवले विगतमा पार्टी छाडेर गएकाहरूलाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन् ।

यता, नेकपा (एमाले) बाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीमबहादुर रावलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग एकताको सम्भावना खुला राखेका छन् ।

स्रोतका अनुसार रावल नेतृत्वको मातृभूमि जागरण अभियानका सदस्यहरू यस विषयमा निर्णय लिन आन्तरिक छलफलमा जुटिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत मंगलबार रावलको टिम पनि एकता प्रक्रियामा सामेल हुने संकेत दिएका थिए । माओवादी केन्द्रको अन्तिम बैठकमा प्रचण्डले भनेका थिए, ‘अहिलेसम्म दश समूह एकतामा आएका छन् । भीम रावलज्यूहरू पनि एकतामा आउँदै हुनुहुन्छ ।’

प्रचण्डको भनाइबारे अहिलेसम्म निर्णय भई नसके पनि छलफल सकारात्मक दिशामा अघि बढिरहेको डा. भीम रावलले बताएका छन् ।

गत कात्तिक १८ गते रावल, प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । सो अवसरमा रावललाई सम्मानपूर्वक एकतामा सहभागी हुन आग्रह गरिएको थियो ।

जवाफमा उनले समूहगत सहमतिको आवश्यकता औँल्याउँदै भनेका थिए, ‘म एक्लै निर्णय गर्न सक्दिनँ । हाम्रो समूह पनि विस्तार हुँदै गएको छ, त्यसैले सबै नेतासँग छलफल गरी निर्णय गर्नुपर्छ।’

प्रचण्ड र नेपालसँगको छलफलपछि रावलले हाल आफ्ना निकटका नेताहरूसँग आन्तरिक परामर्श गरिरहेका छन् । रावलले नेताहरूको राय बुझ्दै गरेको हुँदा केही दिनभित्र आधिकारिक निर्णयमा पुग्ने बताएका छन् ।

You may also like