काठमाडौँ । आइरन फोलिक एसिड खरिदसम्बन्धी विवाद बढेपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया रद्द गरेको छ। सोसँगै विभागका महानिर्देशक टंक बाराकोटीले पदबाट राजीनामा दिइसकेका छन् ।
विभागले प्रदेश र स्थानीय तहले आफैँ खरिद गर्दै आएको औषधि मन्त्रालयको निर्देशनमा केन्द्रीयस्तरबाट खरिद गर्ने निर्णय गरेपछि विवाद चुलिएको थियो । विभागले गत साउन ३० गते आइरन फोलिक एसिडका ट्याब्लेट खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।
करिब १५ करोड रुपैयाँ बराबरको औषधि खरिद गर्न प्रति ट्याब्लेट ९३ पैसा अनुमान गरिएको थियो, तर सुदूरपश्चिम प्रदेशले हालै सोही औषधि ५५ पैसामा खरिद गरेको तथ्य सार्वजनिक भएपछि प्रक्रिया विवादास्पद बनेको थियो ।
महानिर्देशक बाराकोटीले राजीनामा पत्रमा ‘व्यक्तिगत र पारिवारिक कारण’ उल्लेख गरेका छन् । तर विभागभित्रका स्रोतका अनुसार खरिद प्रक्रियामा मन्त्रालयको दबाब र असहयोगका कारण उनले पद छाडेका हुन् । उनको कार्यकाल अझै २ वर्ष बाँकी नै थियो । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।
यसअघि खरिद शाखा प्रमुख दया पन्तले समेत खरिद प्रणालीमा विभिन्न दबाब र चुनौती रहेको बताएका थिए।





