बुटवल । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। शुक्रबार राति करिब १० बजे बुर्तिवाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग–३–च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वावीर नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–७ निवासी २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।
दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का २७ वर्षीय चालक दिलबहादुर विक र वडा नं. ७ का २४ वर्षीय वसन्त अदै घाइते भएका छन्। घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ भने वसन्त अदै उपचारपछि घर फर्किसकेका छन्।
मानन्धरका अनुसार पिकअप जिप सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो। पोस्टमा राति दुर्घटना भएको सूचना पाएपछि तत्काल उद्धार कार्य सुरु गरिएको र समयमै अस्पताल पुर्याइएको उनले बताए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।




