काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै नागरिकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छन्। शुक्रबार साँझ जारी गरेको भिडियो सन्देशमार्फत उनले प्रत्येक योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीका अनुसार लोकतान्त्रिक समाजको नागरिकका सपना पूरा गर्ने दुई प्रमुख आधार हुन्छन्-विवेक र मताधिकार । उनले भनिन्, ‘लोकतन्त्रको सार नै नागरिकको विवेकमा निहित छ। विवेकले सही बाटो रोज्छ, गलत गर्न दिँदैन । त्यस विवेकलाई प्रयोग गर्ने माध्यम भनेको मतदाता परिचयपत्र हो ।’
उनले विशेष गरी जेनजी पुस्तालाई सम्बोधन गर्दै भनेकी छन्, ‘हाम्रो सपनाको नेपाल बनाउन हामीले पहिले मतदाता परिचयपत्र बनाउनुपर्छ, त्यसपछि त्यसको सही प्रयोग गरेर योग्य प्रतिनिधि छान्नुपर्छ। आवश्यकता परे आफू नै सही प्रतिनिधि बन्ने साहस गर्नुपर्छ।’
प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देशको समृद्धिका लागि सबै नागरिक एकजुट भएर अघि बढ्नुपर्ने बताइन् । उनले थपिन्, ‘देश परिवर्तन चाहन्छौँ भने आजै नजिकको निर्वाचन कार्यालय पुगेर मतदाता परिचयपत्र बनाऔँ र निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेर जिम्मेवार नागरिकको भूमिकामा उत्रिऔँ।’




