सरकारले वातावरण तयार गर्न नसकेकाले संसद् पुनःस्थापनाको माग: विष्णु पौडेल

by समतल अनलाइन
56Shares

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले चुनावबाट नभाग्ने स्पष्ट गरेका छन्।

उनका अनुसार पार्टीले संसद् पुनःस्थापनाको माग गरे पनि उद्देश्य चुनाव टार्नु होइन, निर्वाचनका लागि आवश्यक वातावरण तयार गराउनु हो।

बुटवलमा बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने,
“एमाले कुनै अवस्थामा चुनावबाट हट्दैन। तर सुरक्षित, विश्वासिलो र तयारी भएको वातावरण अनिवार्य छ।”

उनले सरकारले अहिलेसम्म चुनावको तयारी नगरेकाले संसद् पुनःस्थापनाको माग अघि सारिएको बताए।
“यो सरकारले निर्वाचन गराउनै सक्दैन,” पौडेलले भने, “फागुनमा चुनाव भनिएको छ, तर कुनै तयारी छैन। हाम्रो पार्टी चुनाव घोषणा भए लगत्तै तयारीमा लाग्छ।”

पौडेलले हालको राजनीतिक परिस्थिति समाधान संसद् पुनःस्थापनाबाटै हुने दाबी गरे।
उनका अनुसार एमालेको उद्देश्य नेतृत्व हात पार्ने होइन, संविधानअनुसार अगाडि बढ्ने हो।

आन्दोलनका क्रममा एमालेमाथि भएको आक्रमण, राष्ट्रिय सम्पत्तिमा भएको क्षति र अन्य शक्तिको हस्तक्षेपबारे जनतामा तथ्य प्रस्तुत गर्नुपर्ने उनले बताए।
“राजाको शासनविरुद्ध देशभर उत्प्रेरणा नहुँदा पनि लुम्बिनी र बुटवलमा एमालेले ऐतिहासिक प्रदर्शन गरेको थियो,” पौडेलले स्मरण गरे, “फेरि पनि त्यस्तै उत्साह चाहिन्छ।”

पौडेलले पार्टीको ११औँ महाधिवेशन सहमति र एकतामा सम्पन्न हुने दाबी गरे।
“पदाधिकारीमा सर्वसम्मति हुनेछ, सदस्यमा स्वस्थ प्रतिस्पर्धा हुन सक्छ,” उनले भने।

You may also like