काठमाडौं । सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार उनलाई मंगलबार गोरखाबाट पक्राउ गरिएको हो ।
भुसाल गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रममा बसेका बेला प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै छ ।
डा. भुसालले कार्तिक १६ गते सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिपछि तरुण दलका एक कार्यकर्ताले सामाजिक सञ्जालमै प्रतिकारको चेतावनी दिएका थिए । सम्भावित मुठभेट र अशान्ति रोक्नका लागि प्रहरी टोलीले भुसाललाई नियन्त्रणमा लिएको बताइएको छ । स्रोतका अनुसार पछिल्लो समय उनले सञ्चार सम्पर्क समेत विच्छेद गरेर बसेका थिए ।
यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा पनि भुसाल पक्राउ परेका थिए । सो समयमा गरिएको स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको रिपोर्ट आएको थियो । त्यसपछि सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।
त्यसयता पनि उनले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । पछिल्लो पटक उनले जेनजी प्रदर्शनका क्रममा ओली, लेखक र तत्कालीन प्रजिअ रिजालमाथि सर्वसाधारणको ‘हत्या’ गरेको आरोप लगाउँदै उनीहरूको घर घेर्ने चेतावनी दिएका थिए ।
			        

												
														

