भैरहवाको होटल एक होटलमा गोली प्रहार, सुरक्षा गार्ड घाइते

by समतल अनलाइन
84Shares

बुटवल । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेटअगाडि गएराति गोली चलेको छ । रातको करिब १ बजे भएको घटनामा एकजना व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार गरिएको हो ।

डीएसपी कार्कीका अनुसार बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षीय परियारको ढाडमा गोली लागेको थियो । उनी सामान्य रूपमा घाइते भएका र भैरहवास्थित भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले तत्कालै होटल आसपासको क्षेत्र सिल गरी सीसी टिभी फुटेजको विश्लेषण थालेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा गोली चलाउने व्यक्तिको पहिचानका लागि सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घटना कसरी र किन भयो भन्नेबारे विस्तृत अनुसन्धान जारी छ । होटल निर्वाणाको गेट क्षेत्रमा गोली चल्नु भैरहवा जस्तो व्यस्त सहरमा असामान्य मानिएको छ । स्थानीयले घटनापछि सुरक्षा व्यवस्था कडाइ गर्न माग गरेका छन् ।

You may also like