रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी सुत्केरी व्यथा लागेकी एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उद्धार गरिएको छ।
बिहान करिब पौने १० बजे उद्धार गरी उनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।
मङ्गलबार बिहान करिब ४ बजे सुत्केरी व्यथा लागेकी महिलालाई स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले जाँच गर्दा अवस्था जटिल भएपछि तत्काल हेलिकोप्टरमार्फत उद्धारका लागि पहल गरिएको प्रमुख जिल्ला अधिकारी परियारले बताइन्।
स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टका अनुसार बच्चा जन्मिने समय अझै एक महिना बाँकी रहे पनि अचानक व्यथाले च्यापेपछि अवस्था गम्भीर बनेको थियो। “उनको पेट फुल्ने, काम्ने र बेहोस हुने जस्ता लक्षण देखिएका थिए,” विष्टले बताए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुत्केरीलाई सुर्खेत लगिएको जनाइएको छ।
			        

												
														

