गृहमन्त्री र मेयरबीच तीव्र मतभेद : गृहमन्त्रीका अनुसार बालेनको कदम आपराधिक

by समतल अनलाइन
92Shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तिक्तता सार्वजनिक रूपमा देखिन थालेको छ । सोमबार थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले डोजर चलाउने काठमाडौँ महानगरको कदमलाई ‘अपराधसँग मिल्दोजुल्दो कार्य’ भनेका छन् ।

मेयर बालेनको निर्देशनमा महानगर प्रहरीले सार्वजनिक जग्गा मिचिएको आरोपमा सो कार्यालयको एक भागमा आइतबार डोजर लगाएको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘स्थानान्तरणका लागि समय आवश्यक पर्ने’ भन्दै तत्काल कारबाही रोक्न पत्राचार गरेपछि महानगरले डोजर फिर्ता गरेको थियो।

सोमबार बिहान उक्त क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री अर्याल पुगेका हुन् । महानगरको कदमप्रति असन्तुष्टि जनाउँदै भने, ‘कुनै किसिमको समन्वय नगरी ट्राफिक प्रहरी कार्यालयमा कारबाही गर्नु अनुचित मात्र होइन, अपराध सरह हो। प्रहरीलाई वैकल्पिक स्थान बिना हटाउन सम्भव छैन।’

वरिष्ठ अधिवक्ता समेत रहेका गृहमन्त्री अर्याल यसअघि मेयर बालेनका कानुनी सल्लाहकार पनि थिए । तर पछिल्ला महिनाहरूमा उनीहरूबिच दूरी बढ्दै गएको देखिन्छ।

हालै मेयर बालेनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष गृहमन्त्री अर्याललाई हटाउन दबाव दिएको भन्ने समाचारहरू सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले वक्तव्य जारी गरी त्यसबारे स्पष्टीकरण दिएको थियो ।

You may also like