तेन्जिनले नागरिकतामा उल्लेख गरेका बुबालाई नचिनेपछि…

by समतल अनलाइन
80Shares

काठमाडौँ । तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी) समूहका सदस्य तेन्जिन दावा लामाले आफ्नो नागरिकतामा उल्लेख गरिएका बाबुलाई नचिनेको प्रहरीले जनाएको छ । लागुऔषध, लिखत किर्ते र आपराधिक उपद्रव गरी तीन कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले नागरिकतामा उल्लेख बाबुलाई कार्यालयमा बोलाइ भेटाएका थिए । तर, तेन्जिनले बाबु र बाबु भनिएका व्यक्तिले तेन्जिनलाई नचिनेको प्रहरीले जनाएको हो ।

तेन्जिनले आफ्नो जन्म दर्ता र नागरिकतामा काठमाडौँ महानगरपालिका–६ ठेगाना उल्लेख गरेका थिए। जन्म दर्ता २०६३ चैत १० गते दर्ता गरिएको र नागरिकता २०७९ असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लिएको विवरण प्रहरीले सङ्कलन गरेको छ । वडा कार्यालयले सो विवरण अभिलेखमा नभएको जवाफ दिएकोी थियो।

प्रहरीले उनलाई तिहार अघि अभद्र व्यवहारको मुद्दामा मात्र अनुसन्धान गरिरहेको थियो। तर हाल लागूऔषध, लिखत किर्ते र अन्य कसुरमा समेत अनुसन्धान अघि बढाइएको छ। प्रहरीले उनका कोठामा खानतलासी गर्दा लागुऔषध (गाँजा) फेला परेको दाबी गरेको छ।

तेन्जिनलाई असोज २६ गते बिजुली बजारको पुलमा पेस्तोलसहित देखिएको फोटो/भिडिओ सार्वजनिक भएपछि पक्राउ गरिएको थियो। उनको समूहले सुरुमा शान्तिपूर्ण रूपमा सुरु भएको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन मुख्य भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ ।

२३ गते उग्र गतिविधि गर्दै निषेधित क्षेत्रमा मोटरसाइकलसहित ठूलो संख्यामा सहभागी भएको भिडिओ पनि सार्वजनिक भएको थियो । सहभागी सदस्यहरू टीओबी लेखिएको ज्याकेट लगाएका थिए।

टीओबी लेखिएको कालो कपडा लगाएर यो समूहका व्यक्ति बुलेट बाइक पड्काउँदै जेनजी आन्दोलनमा गएका थिए । केही ज्याकेटमा टीओबीको पूरा रूप ‘तिब्बतीयन ओरिजिनल ब्लड’ समेत लेखिएको थियो ।

तेन्जिनले भने आफूहरू बाइक राइड गर्ने समूह रहेको दाबी गरेका छन् । आन्दोलनमा जानुको मुख्य उद्देश्य नै बाइक पड्काउन रहेको दाबी उनको छ ।

तेन्जिन पेसाले ट्याटु आर्टिस्ट हुन् । केही समय पहिलासम्म उनले बौद्धमा कोठा भाडामा लिएर ट्याटु खोप्ने काम गरेका थिए । अहिले पसल नचलेको भन्दै बन्द गरेको उनले बताएका छन् ।

साथै, प्रहरी अनुसन्धानका क्रममा टीओबी समूह गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको दुर्गा प्रसाईँको आन्दोलनमा प्रयोग भएको खुलेको छ । यो कुरा तेन्जिनले स्वीकारसमेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।

You may also like