काठमाडौँ। सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ। गत भदौ २३ र २४ गते नागरिकहरूले राष्ट्र हित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै गरेको प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको थियो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो कि गृह मन्त्रालय, सम्बन्धित सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको अध्ययनपछि उक्त ४५ जनालाई शहीद घोषणा गरिएको हो। उनले थप शहीदको विषयमा थप अध्ययन नभएको पनि स्पष्ट पार्नुभयो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषद्को निर्णय अनुसार शहीदहरूको नाम राजपत्रमा प्रकाशित गरिनेछ।
त्यस्तै, मन्त्रिपरिषद्ले बेपता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ भने विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।
बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ।
यसअघि, नेपाली सेनाले जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको छ । पत्रकार सम्मेलन गर्दै सेनाले ७६ जनामध्ये २२ जना प्रदर्शनकारी, १० जना कैदी र तीन जना प्रहरीको मृत्यु भएको जानकारी दिएको हो ।
युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले मृत्यु हुने ७६ जनामध्ये ४१ जना अन्य भएको बताएका थिए । देशभर ४८४ स्थानमा आन्दोलन भएको पनि नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो ।
त्यस्तै, जेनजी आन्दोलनमा भएको आगजनीमा परी काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा ज्यान गुमाएका सात जनाको पहिचान हुन नसकेपछि प्रहरीले बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरेको छ ।
प्रहरीका अनुसार शवहरू अत्यधिक जलनका कारण आवश्यक जीवित कोष फेला नपरेपछि डिएनए परीक्षण सम्भव नभएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले परीक्षणका लागि केही नमुना पठाएको भए पनि ती नमुनामा जीवित कोष नपाइएकाले नतिजा निकाल्न नसकिएको हो ।
सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले पनि डिएनए परीक्षण असफल भएको पुष्टि गरेको छ। फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार अब ती कङ्कालहरूलाई कानुनी प्रक्रिया पूरा गरेर अन्त्येष्टि गर्न तयारी भइरहेको छ।
प्रहरीका अनुसार केही मानिसहरूले हराइएका आफन्तको खोजी गर्दै आएका छन् तर ती शवहरूमध्ये कसैको पहिचानसँग मेल खाने कुनै प्रमाण फेला पर्न नसकेको हुँदा बेवारिसे भनेर अन्त्येष्टि गर्न लागिएको हो ।




