पत्रकारलाई धम्की : घटनाको समाचार हटाउन दबाब

by समतल अनलाइन
158Shares

बुटवल ।बुटवलमा घटेको एउटा घटनाबारे समाचार लेखिएको भन्दै केही व्यक्तिले पत्रकारलाई धम्की दिएका छन्।

खवरकुरा डटकमका प्रधान सम्पादक राजन पौडेल, सम्पादक दिनेश श्रेष्ठ र प्रबन्ध सम्पादक शरण कर्माचार्यलाई फोन गरेर समाचार हटाउन दबाब दिइएको हो।

खवरकुरा डटकमका सम्पादक श्रेष्ठका अनुसार, “एक पुरुष र एक महिलाले फोन गरी समाचार के आधारमा लेखिएको हो भनेर सोधेका थिए। हामीले प्रहरीको जानकारीका आधारमा समाचार तयार पारिएको बताउँदा अश्लील शब्द प्रयोग गर्दै ‘समाचार नहटाए साइट बन्द गरिदिन्छौँ’ भन्ने धम्की दिएका थिए।”

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिनु गम्भीर र निन्दनीय कार्य भएको जनाएको छ। महासंघका सचिव सिपी खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “एक पुरुष र मृतककी छोरी दाबी गर्ने महिलाले फोन गरेर समाचार हटाउन दबाब दिएका छन्। समाचार नहटाए कार्यालय तोडफोड र साइट बन्द गरिदिने चेतावनी दिएका छन्।”

महासंघले भनिएको छ, “प्रहरीले पुष्टि गरेको विवरणका आधारमा समाचार प्रकाशन गर्नु पत्रकारको दायित्व हो। समाचारमाथि असन्तुष्टि भए कानुनी निकायमार्फत गुनासो गर्न सकिन्छ, तर धम्की दिने प्रवृत्ति प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो।”

महासंघले धम्की दिने व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

त्यसरी प्रेस चौतारी नेपाल रुपन्देहीले पनि विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिने कार्यको विरोध गरेको छ। चौतारीले भनेको छ, “स्वतन्त्र पत्रकारितामाथि हुने यस्तो धम्कीपूर्ण व्यवहार अस्वीकार्य छ। प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाप्रति राज्यले गम्भीर हुनुपर्छ।”

You may also like

This will close in 0 seconds