बुटवल । बुटवलस्थित एक होटलमा परपुरुषसँग बसेकी विवाहित महिलामाथि पुरुषको मृत्यु भएपछि किटानी जाहेरी परेको छ ।
बुटवल–३ फूलबारीकी ३० वर्षीया महिलालाई बुटवल–६ चाँदवारीका ५६ वर्षीय पुरुषको मृत्यु प्रकरणमा मृतक परिवारले आरोप लगाउँदै किटानी जाहेरी दिएका हुन्। मृतकको पहिचान सार्वजनिक गरिएको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ती महिला शनिबार दिउँसो दुई बच्चासहित पुरुषसँग मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लज पुगेकी थिइन्। उनीहरूले होटलका दोस्रो र तेस्रो तलामा दुईवटा कोठा बुक गरेका थिए। एउटा कोठामा महिलाकी नाबालक छोरी र भतिजी बसेका थिए भने अर्को कोठामा ती महिला र पुरुष बसेका थिए।
प्रहरीका अनुसार दुवैबीच कुनै पारिवारिक सम्बन्ध थिएन। होटलमा बसेपछि उनीहरूले कोठामै खाजा मगाएर खाएका थिए। केही समयपछि पुरुष अचानक बेहोस भएका थिए। होटल सञ्चालकलाई जानकारी दिइएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको परिवारले महिलामाथि शंका व्यक्त गर्दै किटानी जाहेरी दिएको छ। हाल प्रहरीले होटलधनी, व्यवसायी संघका प्रतिनिधि र सम्बन्धित पक्षसँग छलफल गर्दै अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार मृतकको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन। “मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुनेछ,” उनले भने।
मृतकका दुई छोरी र श्रीमती छन्। उनी बुटवल चाँदवारीका स्थायी बासिन्दा हुन् र मैनाबगरमा अटो व्यवसाय गर्थे। स्थानीयहरूका अनुसार उनी मुटुका बिरामी थिए र नियमित औषधि सेवन गर्थे। मृत्यु औषधिको असर वा स्वास्थ्यसम्बन्धी कारणले पनि हुनसक्ने अनुमान गरिएको छ।




