गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

by समतल अनलाइन
48Shares

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शनिबार दिउँसो २३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा र आमामाथि धारिलो हतियारले प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

भोटबहादुरले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकमाथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा धनबहादुर बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

गम्भीर घाइते दिलमाया बिकलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो । त्यस्तै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली पनि म्याल पुगिएको छ ।

आक्रमणपछि फरार भएका भोटबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको मानसिक सन्तुलन ठीक नभएको खुलेको प्रहरीले जनाएको छ ।

मृतक धनबहादुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

You may also like