धनुषामा बस र अटो ठोक्किँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

by समतल अनलाइन
72Shares

जनकपुरधाम । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगरलाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार दुर्घटनाबारे थप अनुसन्धान जारी छ ।

You may also like