काठमाडौं । दुवईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ।
शनिबार टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रनमा समेटिएको हो।
नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रनको अर्धशतकीय इनिङ खेले। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४३ बलमा अर्धशतक पूरा गरेका थिए।
त्यस्तै, इन्निङ्सको अन्त्यतिर आक्रामक ब्याटिङ प्रदर्शन गर्दै करण केसीले केवल ३१ बलमा ४९ रनको योगदान दिए। उनी अर्धशतक बनाउनबाट एक रनले चुके पनि उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए।
नेपालका ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन जोडे।
बलिङतर्फ अमेरिकाका हर्मीत सिंह सर्वाधिक सफल बलर बने। उनले १० ओभरमा ३३ रन खर्चिएर ३ विकेट हात पारे। त्यस्तै सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिएका थिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट जोडे।
यसअघि जारी शृंखलामा नेपालले खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको नेपाल दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।
अब नेपाललाई लिगमा प्रतिस्पर्धा कायम राख्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ।




