बुटवल । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले देशमा बढ्दो विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिएका छन् ।
उनले अन्तरिम सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै जनतालाई इमानदार र निष्कलङ्क नेतृत्व रोज्न आग्रह गरेका छन् । प्रगतिशील पत्रकार संघले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लिखित अभिव्यक्ति प्रस्तुत गर्दै उनले देश अहिले गम्भीर राजनीतिक संकटमा रहेको बताए । प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको उनको भनाइ थियो । उनले पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष्कर्ष सार्वजनिक गर्दै देशमा फैलिएको भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले जनतामा असन्तोषको विस्फोट निम्त्याएको बताए । सिंहले भाद्र २३ गतेको जेनजी आन्दोलनमाथि सरकारले गरेको बल प्रयोगलाई नरसंहारकाे संज्ञा दिँदै ओली सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर जनतालाई दमन गरेको आरोप लगाए । उनले त्यस घटनाको निष्पक्ष छानबिन र कारबाही आवश्यक रहेको बताए । आन्दोलनमा घुसपैठ गरेर २४ गते भएका आगलागी र तोडफोडका कार्यहरू जेनजी आन्दोलनका युवाहरूले होइन, बाह्य तत्त्वहरूले गराएको उनको भनाइ थियो ।
बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाका कार्यालयमाथि भएको आक्रमणलाई उनले पूर्वनियोजित षड्यन्त्र भने । सिंहले जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको आरोप पनि लगाए । उनका अनुसार अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिमा तान्ने र चीनविरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ । उनले हालै दलाइ लामाले दिएको वक्तव्यलाई त्यसको प्रमाणका रूपमा व्याख्या गरे । सिंहले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणाली ल्याउने प्रस्तावलाई अधिनायकवादको ढोका खोल्ने सोचका रूपमा व्याख्या गरे । उनले भने– नेपाल जस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा पुर्याउँछ ।
राजनीतिमा पुस्तान्तरणको विषयमा उनले उमेरलाई मात्र आधार नबनाउन सुझाव दिए । उनका अनुसार नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टि र इमान्दारिता नै मुख्य मापदण्ड हुनुपर्छ । सिंहले देशमा फैलिएको भ्रष्टाचारलाई प्रमुख चुनौती बताउँदै भने– देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलङ्क छविका नेताहरू विजयी हुन्छन् । पुरानो वा नयाँ दल होइन, इमानदार नेताको समर्थन हुनुपर्छ । उनले राष्ट्रिय जनमोर्चालाई इमानदार र निष्कलङ्क पार्टीका रूपमा प्रस्तुत गर्दै भने– जबसम्म भ्रष्ट तत्त्वहरूले पैसा बाँडेर चुनाव जित्ने प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म देशको विकास सम्भव छैन ।




