काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ।
बुधबारदेखि सुरु भएको बैठक शुक्रबार सकिएको थियो । अध्यक्ष माधवकुमार नेपालले बैठकमा माओवादी केन्द्र र नेसपासँगको एकताको प्रस्ताव प्रस्तुत गरेका थिए । अध्यक्ष नेपालको प्रस्तावलाई बहुमतले अनुमोदन गरेको हो ।
साथै, बैठकले बाँकी गृहकार्य सचिवालयलाई अगाडि बढाउने अधिकार समेत सुम्पेको छ।
तर, करिब दर्जनभन्दा बढी नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता निर्णय गरे पनि केही नेताहरूले त्यसमा असहमति जनाएका हुन् ।
स्रोतका अनुसार एकता प्रक्रियामा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल एकतामा नजाने बताइसकेका छन्।
स्थायी कमिटी सदस्यहरू विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पनि माओवादी केन्द्रसँग एकतामा नजाने भएका छन् । पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अशेष घिमिरे पनि एकता प्रक्रियामा नजाने एक केन्द्रीय सदस्यले बताए।
 
			        

 
												 
														

