कप्तान रोहित पौडेलको शतकमा नेपालले युएईलाई २३४ रनको लक्ष्य

by समतल अनलाइन
71Shares

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले कप्तान रोहितकुमार पौडेलको शानदार शतक मा घरेलु टोली युएईलाई २३४ रनको लक्ष्य दिएको छ।

दुबईमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रन बनाए। उनले १३० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै एकदिवसीय करियरको दोस्रो शतक पूरा गरे। यसअघि उनले सन् २०२२ मा पापुआ न्यु गिनीसँग शतक प्रहार गरेका थिए।

नेपालले खराब सुरुवात गरेको थियो। ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले ३ रन मात्रै जोड्न सके। तर, आसिफ शेख (३५ रन) र आरिफ शेख (२७ रन)ले इनिङ सम्हाले।

दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए भने रोहितले क्रमशः आसिफ, आरिफ र दीपेन्द्रसँग महत्त्वपूर्ण साझेदारी गरे। हिट विकेट भएका सोमपाल कामीले ६ रन बनाए भने **करण केसीले अन्तिम ओभरमा ८ बलमा १३ रन जोडेका थिए।

बलिङतर्फ युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।

नेपालको खेलाडी सूचीमा रहेका छन् — कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल (कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।

यसअघि सिरिजका दुवै खेलमा अमेरिकाले जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ। नेपाल र युएईले भने पहिलो खेलमा पराजय भोगेका थिए।

अमेरिकाले २२ खेलबाट १६ जित निकाल्दै ३२ अंक जोडेको छ। दोस्रो स्थानमा स्कटल्यान्ड (३० अंक) र तेस्रोमा नेदरल्यान्ड्स (२८ अंक) छन्। नेपालले १७ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ।

नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका, र सोमबार फेरि युएईसँग खेल्दै यो वर्षको लिग–२ अन्त्य गर्नेछ।

You may also like