देशका विभिन्न ठाउँमा वर्षा जारी, यसो भन्छन् मौसमविद्

by समतल अनलाइन
64Shares

काठमाडौं उपत्यका र देशका मध्यदेखि पूर्वी भूभागमा बिहीबार बिहानदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहानीमा छिटपुट वर्षा भए पनि हाल मध्यम वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा विभिन्न स्थानमा भएको वर्षा यसप्रकार छ:

* उदयपुरगढी केन्द्र: ४५.२ मिलिमिटर
* मुर्कुची बजार: ४३.८ मिलिमिटर
* कमला रिभर केन्द्र: ३९ मिलिमिटर
* गोलबजार: ३७.४ मिलिमिटर
* तुर्केघाट: ३६.८ मिलिमिटर
* धनकुटाको त्रिवेणी: ३६.४ मिलिमिटर
* तुम्लिङटास: ३२.४ मिलिमिटर

वर्षा गण्डकी, बागमती, कोशी र मधेसका अधिकांश जिल्लामा भइरहेको छ। मौसम विशेषज्ञ उज्ज्वल उपाध्यायका अनुसार काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा बिहानी ४ बजेदेखि वर्षा भइरहेको छ। अहिलेको वर्षा पश्चिमी वायुको गतिविधि र मोन्था आँधीको आंशिक प्रभावले भएको हो।

उपाध्यायले भने, “मोन्था आँधीको प्रभाव आज बिहीबार अपराह्न पूर्ण रूपमा सक्रिय हुनेछ, जसका कारण मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा हुने सम्भावना छ। उच्च हिमाली भेगमा भारी हिमपात पनि हुने देखिन्छ।”

मौसमविद् विनोद पोखरेलले मोन्था आँधीको प्रभावले बुधबार बेलुकीदेखि पूर्वी नेपाल र बिहानीदेखि गण्डकीदेखि पूर्वी भूभागमा हल्का देखि मध्यम वर्षा भइरहेको बताए। उनले थपे, “यो त ट्रेलर मात्र हो। न्यूनचापीय प्रणाली अझै नेपालबाट धेरै टाढा छ, तर यसले आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भारी वर्षा गराउन सक्छ।”

विपद्विज्ञ धर्म उप्रेतीले पनि मोन्थाको प्रभाव सुरु भएको बताए। उनका अनुसार, काठमाडौं र पूर्वी नेपालमा निरन्तर हल्का देखि मध्यम वर्षा हुने छ र दिउँसो तथा राति थप सक्रिय हुने सम्भावना छ। शुक्रबार बिहानदेखि वर्षा अझ बढ्ने देखिएको छ, जसले मनसुनको प्रभाव झल्काउनेछ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र बागमती प्रदेशका सबै जिल्लामा सतर्कता अपनाउन भनेको छ। त्यस्तै गोरखा, नवलपुर, नवलपरासी र रूपन्देहीमा पनि सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ।

कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्लाका नागरिकलाई मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन सुझाव दिइएको छ।

You may also like