बुटवल । रुपन्देहीका दर्जनभन्दा बढी उद्योगमा विद्युत् लाइन काटिएपछि उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती महसुल तिराउन खोजिएको र नतिरेपछि विद्युत् काटिएको भन्दै विरोध सुरू गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार उद्योगीहरूले बिहीबार बिहान ११ देखि १२ बजेसम्म नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिएका छन् । माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
रुपन्देहीका १३ वटा उद्योगको लाइन काटिँदा २४ हजारभन्दा बढी श्रमिकको रोजगारी संकटमा परेको उद्योगीहरूको दाबी छ ।
उद्योगीहरूका अनुसार विद्युत् प्राधिकरणले आफूहरूले प्रयोग नै नगरेको ट्रंकलाइन र डेडिकेटेड फिडरको नाममा जबरजस्ती महसुल असुल्न खोजेको हो । उनीहरूले प्रयोगको प्रमाण नै नभएको भन्दै महसुल तिर्न अस्वीकार गरेका छन् ।
पञ्चकन्या, एसआर स्टिल, शुभलक्ष्मी पोलिमर्स, गोयन्का फुड्स, नेसनल रबर, प्रिया प्याकेजिङलगायतका उद्योगहरूले प्राधिकरणले अन्यायपूर्ण रूपमा बिल पठाएको भन्दै विरोध जनाएका छन् ।
प्राधिकरणले भने बक्यौता बुझाउन २१ दिने सूचना जारी गरी किस्ताबन्दीको सुविधा पनि दिएको छ । तर उद्योगीहरूले पुनरावलोकन समिति खारेज गरेर महसुल असुल्न खोजिएको भन्दै आन्दोलन तीव्र बनाउने चेतावनी दिएका छन् ।




