बाबुल गिरीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

by समतल अनलाइन
67Shares

काठमाडौँ । गत कात्तिक १ गते शनिबार अनामनगरस्थित याम तिलक स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधनपछि गायक बाबुल गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पौडेलको उपचारका क्रममा कात्तिक ७ गते बर्न अस्पतालमा मृत्यु भएको थियो।

मृत्युपश्चात् पौडेलका आफन्तहरूले बाबुल गिरीविरुद्ध आत्मदाह दुरुत्साहनको आरोप लगाउँदै जाहेरी दर्ता गरेका छन् । सोही प्रकरणमा अनुसन्धान अघि बढाउँदै प्रहरीले गिरीलाई हिरासतमा राखेको र ५ दिन थप म्याद पाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।

घटना कात्तिक १ गते दिउँसो करिब साढे दुई बजे भएको बताइएको छ। सो समयमा स्टुडियोमै रहेकी पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन् । उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको र गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।

परिवारका अनुसार गिरीले विवाहको आश्वासन दिँदै लामो समयसम्म सम्बन्धमा रहँदा पनि पछि विवाह गर्न अस्वीकार गरेपछि नितु मानसिक रूपमा आहत भएकी थिइन्। यही कारणले उनले आत्मदाहको प्रयास गरेको दाबी जाहेरीमा गरिएको छ।

You may also like