प्रतिनिधि सभा निर्वाचन पर्यवेक्षणका लागि १५ दिनभित्र आवेदन दिन आग्रह

by समतल अनलाइन
152Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेको बेला निर्वाचन आयोगले पर्यवेक्षक आव्हान गरेको छ।

आयोगले मंगलबार सूचना जारी गर्दै निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र निवेदन दिनुपर्ने जनाएको हो। काठमाडौँ उपत्यकाका संस्थाले आयोगमै आवेदन दिन सक्नेछन् भने अन्य जिल्लाका संस्थाले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन पठाउनुपर्नेछ ।

निवेदनसँगै संस्था दर्ता प्रमाणपत्र, विधान, नवीकरणको प्रतिलिपि र पदाधिकारी सूची अनिवार्य हुने आयोगले जनाएको छ । साथै, अघिल्ला निर्वाचनमा पर्यवेक्षण गरेको भए त्यसको प्रतिवेदन बुझाएको प्रमाण पनि जोड्नुपर्नेछ ।

आयोगका अनुसार आचारसंहिता उल्लङ्घन गरी सजाय पाएका वा अघिल्लो पर्यवेक्षण प्रतिवेदन नबुझाउने संस्थालाई अनुमति दिइने छैन। त्यस्तै, पर्यवेक्षकले आफ्नै मतदाता नाम रहेको क्षेत्रमा पर्यवेक्षण गर्न नपाउने व्यवस्था छ।

यस पटकको निर्वाचन पारदर्शी र निष्पक्ष बनाउन योग्य संस्था सहभागी गराउने तयारी गरेको आयोगले जनाएको छ।

You may also like

This will close in 0 seconds