खराब मौसमका बीच पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

by समतल अनलाइन
53Shares

काठमाडौँ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा लगातार वर्षा र हिमपात भइरहेको कारण सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो मौसममा पदयात्रामा सतर्कता अपनाउन अनुरोध गरेको हो।

प्रशासनले प्रतिकूल मौसमका कारण हुने सम्भावित जोखिम र लेक लाग्ने समस्यालाई ध्यानमा राख्दै अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायत स्थानमा मौसम सामान्य नहुँदासम्म पदयात्रा स्थगित गर्न सुझाव दिएको छ ।

पदयात्रामा निस्कँदा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने आधिकारिक जानकारीलाई पालना गर्न, गन्तव्यको पर्याप्त जानकारी लिएर तयारीसहित यात्रा गर्न, र खाना तथा आवासका लागि अग्रिम बुकिङ गर्न सूचनामा उल्लेख छ। साथै, एक्लै यात्रा नगर्न आग्रह गरिएको छ ।

यात्राका क्रममा न्यानो कपडा, तातोपानी र लेक लाग्दा प्रयोग हुने औषधि साथमा राख्न अनुरोध गरिएको छ । साथै, पर्याप्त तातोपानी, जीवनजल तथा झोलिलो खानेकुरा सेवन गर्न पनि सिफारिस गरिएको छ।

You may also like